नियम १७
बढुवा मिति र नियुक्ति

(१) नियम १५ बमोजिम बढुवाको नामावली प्रकाशित भएपछि नियम १६ को प्रयोजनको निमित्त सो नामावली प्रकाशित भएको मितिबाट पैंतीस दिनसम्म बढुवा सिफारिस पाउने उम्मेदवारलाई बढुवा नियुक्ति नदिई प्रतिक्षा सूचीमा राखिनेछ । बढुवा सिफारिस उपर पुनरावलोकनको लागि आयोगमा निवेदन नपरेमा सो नामावली प्रकाशित भएको मितिले छत्तीसौं दिनको मितिबाट बढुवा हुने श्रेणीको जेष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।
(२) बढुवा सिफारिस उपर नियम १६ बमोजिम निवेदन परेमा देहाय अनुसार जेष्ठता मिति कायम गरी नियुक्ति दिइनेछः
(क) नियम १६ को उपनियम (३) बमोजिम बढुवा सिफारिस संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित नामावली प्रकाशन भएको मितिदेखि, र
(ख) निवेदन खारेज भएमा वा पहिलेको बढुवा सिफारिस नै कायम भएमा पहिलो पटक बढुवा सिफारिस प्रकाशित भएको मितिले छत्तीसौं दिनदेखि ।